नियम
आपाङ्गता भएका, आर्थिक रुपले विपन्न वा दलित समुदायका बालबालिकाको लागि विशेष व्यवस्था
(१) ऐनको दफा ३३ को उपदफा (१) बमोजिमका अपाङ्गता भएका बालबालिकालाई उपलब्धताको आधारमा स्थानीय तहले निःशुल्क रुपमा देहाय बमोजिमका विशेष व्यवस्था उपलब्ध गराउनु पर्नेछः-
(क) दृष्टिविहीन विद्यार्थीको लागि ब्रेललिपीमा तयार पारिएका पाठ्यपुस्तक तथा बहिरा र स्वर बोलाई सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि साङ्केतिक भाषामा तयार पारिएका पाठ्यसामग्री तथा सिकाइ सामग्री,
(ख) दृष्टिविहीन, बहिरा र स्वर वा बोलाई सम्बन्धी अपाङ्गता भएका बालबालिकालाई अपाङ्गताको प्रकृति अनुसार स्रोत कक्षा,
(ग) दृष्टिविहीन, बहिरा र स्वर वा बोलाई वा बौद्धिक तथा विकासात्मक अपाङ्गता भएका बालबालिकाको सिकाइका लागि विशेष तालिम प्राप्त स्रोत शिक्षक,
(घ) अपाङ्गताको प्रकृति अनुसार अति अशक्तहरुका लागि आफैं वा संस्थागत सहकार्यमा तालिम प्राप्त व्यक्तिबाट घरदैलोमा घुम्ती शैक्षिक सेवा वा आवासीय सुविधा सहितको विद्यालय शिक्षा,
(ङ) अपाङ्गता भएका बालबालिकालाई छात्रावृत्ति, दिवा खाजा, विद्यालय पोशाक लगायत अन्य आधारभूत सुविधा ।
(२) स्थानीय तहले आर्थिक रुपले विपन्न वा मानव विकासको सूचकाङ्कको दृष्टिकोणले पछाडि परेका वा दलित समुदायका बालबालिकाको अध्ययनलाई निरन्तरता दिन निजहरुलाई छात्रवृत्ति, दिवा खाजा, शैक्षिक सामग्री, विद्यालय पोशाक उपलब्ध गराउन र आवश्यकता र उपलब्धताको आधारमा आवासीय सुविधा सहितको विद्यालयमा अध्ययन गर्ने समेतको विशेष व्यवस्था मिलाउन सक्नेछ। स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि,-
(१) “आर्थिक रूपले विपन्न” भन्नाले जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा कम आय भएका व्यक्ति सम्झनु पर्छ।
(२) “मानव विकासको सूचकाङ्कको दृष्टिकोणले पछाडि परेका” भन्नाले नेपाल सरकारले मानब विकासको सूचकाङ्कको दृष्टिकोणले पछाडि परेका भनी तोकेको क्षेत्रमा बसोबास गर्ने तोकेको समुदाय सम्झनु पर्छ।